जानकी मन्दिर प्रवेशलाई लिएर विवाद, साम्पाङ समर्थक र विरोधीबीच तनाव

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मंगलबार श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तामाथि धपेडी भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ।

साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आउने कार्यक्रम रहेकाले उनी आउनुअघि स्वागतका लागि पुगेका नेता तथा कार्यकर्तामाथि उक्त घटना भएको हो।

हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईको मासु खाने विषयमा दिएको अभिव्यक्तिलाई लिएर उनको मन्दिर प्रवेशको विरोध गर्दै निषेध गर्ने चेतावनी दिएको थियो।

घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !’

यसअघि उनले अर्को स्टाटसमा जनकपुरमा तनावको अवस्था रहेको उल्लेख गर्दै लेखेका थिए, ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!’ साथै विगतका अभिव्यक्ति र धर्मको विषयलाई लिएर विवाद सिर्जना गरिएको दाबी गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।

श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।