काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आन्दोलन गरेका जेनजीहरूले अहिले सरकारबाटै लाठी खानुपरेको टिप्पणी गरेका छन्।
उनले जेनजी आफैले रोजेको सरकारले उनीहरूमाथि नै लाठी प्रहार गरेको उल्लेख गरेका हुन्। उनले माजिद अन्सारीलगायत अभियन्ताले प्रश्न गर्दा सरकारकै लाठी खाइरहेको उल्लेख गरेका हुन्।
‘जुन जेनजीले अभिव्यक्ति स्वतन्त्रता माग्दै सडक ओगटेको थियो, आज त्यही जेनजी आफ्नै रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न बर्जित भोग्नुपरेको छ,’ आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने। साथै उनले सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढेको बताए।
‘प्रश्न बर्जित हुन थालेको छ। लोकतन्त्रलाई संस्थागत हुन नदिने एक पछि अर्को कार्य भइरहेको छ। सरकार निरंकुश बन्दै गएको छ। सत्ताको उन्मादले हुनुपर्छ, “म सबै त भन्दिनँ, विवेकशील अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र नागरिक सर्वोच्चताका लागि” लडेर आउनुभएका सत्तापक्षमा बस्नुहुने माननीयज्यूहरूको मुखमा टेप लागेको छ,’ उनले भने।
गणेश नेपालीले ज्यान गुमाउनुपर्दा सरकारले आत्मसमीक्षा गर्नुपर्ने भए पनि ‘मलाई प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो, प्रश्न सोध्ने त को होस्’ भन्ने शैलीमा सरकार प्रश्न उठाउनेहरूमाथि प्रतिशोध साँध्न अघि बढेको उनले बताए।
‘गणेश नेपालीले जे गरे, त्यो दुःखद थियो। तर त्योभन्दा दुःखद के भयो भने प्रधानमन्त्रीज्यूले दिनौंसम्म मौनता साध्नुभयो। संसदमा प्रतिपक्षी सांसदहरूले प्रश्न उठाउँदा सरकारले जवाफ दिनुको साटो टार्ने प्रयास गर्यो। संविधानको धारा १६ ले जीवनको अधिकार दिन्छ, धारा २१ ले न्याय पाउने अधिकार दिन्छ, धारा ३७ ले रोजगारीको अधिकार दिन्छ। गणेश नेपाली तीनै अधिकारबाट वञ्चित भए। राज्यसँगको अन्तरक्रियाले नै उनलाई मृत्युतिर धकेल्यो, र राज्य मौन बस्यो। यो मौनता संयोग होइन, यो एउटा प्रवृत्ति हो। राज्यले आफ्नो असक्षमता मौनताले ढाक्छ, आफ्नो जिम्मेवारीबाट मौनताले पन्छिन्छ। र जब मौनता नै नीति बन्छ, त्यो लोकतन्त्रको मृत्युको पूर्वसूचना हुन्छ,’ उनले भने।
सरकारले सुकुम्बासीहरूमाथि सामूहिक उत्पीडन नै सुरू गरेको उनले बताए। ‘बस्ती भत्कियो, बिना सूचना, बिना विकल्प, बिना पुनर्वास। संयुक्त राष्ट्रसंघका विशेषज्ञहरूले समेत बलपूर्वक विस्थापन रोक्न आग्रह गरेका थिए, तर सरकार रोकेन। संविधानको धारा ३६ ले आवासको अधिकार दिन्छ, धारा ३८ ले खाद्यको अधिकार दिन्छ, धारा ३५ ले स्वास्थ्यको अधिकार दिन्छ। यी सबै अधिकार एकैसाथ एउटै ठाउँमा कुल्चिइएका छन्। किन? किनभने यी मानिसहरू गरिब छन्, किनभने यिनीसँग जमिनको कागज छैन, किनभने यो सरकारले “नागरिक” भन्ने शब्दलाई नै साँघुरो बनाएर परिभाषित गर्छ, धन भएको, कागज भएको, मौन बसेको। होल्डिङ सेन्टर आफैंमा एउटा अपवादको ठाउँ बनेको छ, जहाँ सामान्य संवैधानिक सुरक्षा लागू नै हुँदैन,’ उनले भने।
उनले सभापति गगन थापाको घर र सञ्चार माध्यमहरूका कार्यालयअघि सडकमा गाडी पार्किङ गरेको विषय पनि उठाए। ‘सोमबारको घटना सभापतिज्यूको घरमा मात्र भएको होइन। कान्तिपुर, अनलाइनखबर जस्ता प्रतिष्ठित सञ्चार माध्यम अगाडि पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ, त्यो पनि सत्तारूढ दलकै नेताको गाडी। सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस्, तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,’ उनले भने, ‘यसमाथि थपिएर गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया पनि आउँछ। गृह मन्त्रालयकै प्रत्यक्ष जिम्मेवारीभित्र पर्ने सुरक्षा र व्यवस्थापनको विफलतामाथि प्रश्न उठ्दा उहाँले जवाफदेहिता लिनुको साटो स्थानीय सरकारलाई दोष थोपार्ने बाटो रोज्नुभयो। आफ्नै मन्त्रालयको कमजोरीबाट ध्यान हटाउन स्थानीय तहलाई देखाएर पन्छिने प्रयास भयो। त्यसमाथि, एउटा नागरिकले ज्यान गुमाएको दुःखद घटनालाई समेत राजनीतिक फाइदाका लागि भावनात्मक स्टन्टका रूपमा उपयोग गर्न खोजिएको आरोप लाग्छ, मानौं नागरिकको पीडा पनि सत्ताका लागि एउटा अवसर मात्र हो। यो पनि हिरण्यकश्यपुकै चरित्र हो, आफ्नो कमजोरी कहिल्यै नस्विकार्ने, बरु सधैं अरूलाई दोषी देखाउने।’
उनले प्रधानमन्त्री बालेन शाहमाथि प्रश्न गर्न नपाइने हो भनेर पनि सोधेका छन्। ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ।
यो सरकार पनि भन्दैछ, “तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन,’ उनले भने।







