इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

तेहरान । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै रहेको दाबी गरेको छ। यस हप्ता फेरि भड्किएको तनाव आइतबार पनि जारी रह्यो।

इरानले एक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका १४० भन्दा बढी ठेगानामा आक्रमण गरेको बताएको छ। इरानले भने उक्त जहाजले अनुमति नलिएको मार्ग प्रयोग गरेका कारण आक्रमण गरिएको दाबी गरेको थियो।

जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको इरानले आइतबार बिहान अर्को सूचना नभएसम्मका लागि सो मार्ग बन्द गरिएको बताएको थियो। यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आइतबार यस क्षेत्रका अमेरिकी बेस र सहयोगी देशहरूमाथि व्यापक आक्रमण सुरु गरेको छ, जसले तनावलाई थप बढाएको छ।

इरानले जोर्डनमा रहेको अमेरिकी बेसमा आक्रमण गरेको बताएको छ भने संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, ओमान र बहराइनले इरानबाट आएका मिसाइल र ड्रोनको प्रतिरोध गरेको जनाएका छन्।

युद्धविराम वार्तामा मध्यस्थकर्ता रहेको कतारमा गत अप्रिलदेखि र यूएईमा गत मेदेखि कुनै आक्रमण भएको थिएन। आइतबार साँझ सेन्टकमले इरानविरुद्ध अर्को चरणको आक्रमणको घोषणा गरेको छ।

यो आक्रमणले स्ट्रेट अफ होर्मुजबाट स्वतन्त्र रूपमा आवतजावत गर्ने व्यावसायिक जहाज र सर्वसाधारणमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर बनाउने अमेरिकाको भनाइ छ। आइतबार दिउँसो इरानी समाचार एजेन्सी इर्नाले खाडीको रणनीतिक रूपमा महत्त्वपूर्ण टापु तथा आईआरजीसीको बेस रहेको केसिएम टापुतर्फ शत्रुले मिसाइल प्रहार गरेको जनाएको थियो।

यो नयाँ तनावले गत महिना हस्ताक्षर गरिएको अन्तरिम युद्धविराम सम्झौतालाई सङ्कटमा पारेको छ। उक्त सम्झौताको उद्देश्य जलमार्ग पुनः खोल्ने र द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्ने थियो। यसै हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणको अर्थ युद्धविराम समाप्त भएको घोषणा गरेका थिए भने इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए।

यद्यपि, ट्रम्पले वार्ता अझै जारी रहने र मध्यस्थकर्ताहरू प्रक्रियालाई ब्युँताउने प्रयासमा रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी अधिकारीहरूलाई यस हप्ता ट्याङ्करहरूमाथि भएको आक्रमण गल्तीवश भएको र यसमा आन्तरिक विद्रोही समूह दोषी रहेको बताएको थियो।

पछिल्लो तनाव आईआरजीसीले अनुमति नलिएको मार्गबाट यात्रा गर्न खोजेको एक जहाजमाथि नौसैनिक क्रुज मिसाइल प्रहार गरेपछि सुरु भएको हो। सेन्टकमका अनुसार आईआरजीसीले साइप्रसको झण्डासहितको जहाजमाथि ‘लापरबाहीपूर्ण रूपमा आक्रमण’ गरेको थियो, जसका कारण इन्जिन कोठामा क्षति पुगी जहाज अगाडि बढ्न सकेन।

एमभी जीएफएस ग्यालेक्सी नामक उक्त जहाजका एक चालक दलका सदस्य बेपत्ता भएको बताइएको छ। बेलायतको समुद्री व्यापार सञ्चालन (यूकेएमटिओ) ले सैन्य अधिकारीहरूबाट जहाजका चालक दलका सदस्यहरू जहाज छोड्न बाध्य भई लाइफबोटमा रहेको जानकारी पाएको जनाएको छ।

सेन्टकमले एक्समा लेखेको छ, ‘व्यावसायिक जहाजहरूमाथि भएका अघिल्ला आक्रमणहरूको जवाफदेहिता पछि इरानलाई समझदारी ज्ञापनपत्रको पालना गर्ने अर्को अवसर दिइएको थियो तर ऊ फेरि असफल भयो।’ अमेरिकी आक्रमणले इरानका मिसाइल र ड्रोन साइट, सञ्चार सञ्जाल र तटीय निगरानी स्थानसहित १४० सैन्य लक्ष्यमा प्रहार गरेको सेन्टकमले जनाएको छ।

यो भनाइलाई अमेरिकी रक्षा सचिव पिट हेगसेथले साझा गर्दै लेखेका छन्, ‘इरानले गलत विकल्प रोज्यो। अब उसले मूल्य चुकाउँदै छ।’ आईआरजीसीले भने अमेरिकाले दक्षिणी तटमा रहेका केही तटीय बेस र दूरसञ्चार टावरहरूलाई निशाना बनाएको बताएको छ।

जवाफमा इरानले आफ्नो बदलाको ‘पहिलो चरण’ अन्तर्गत जोर्डनको प्रिन्स हसन एयर बेसमा आक्रमण गरी बेसको कमान्ड र कन्ट्रोल सेन्टर तथा एमक्यु९ ड्रोन ह्याङ्गरहरू ध्वस्त पारेको दाबी गरेको छ। आइतबार अमेरिकी सेन्टकमले जलमार्ग खुला रहेको दोहोऱ्याउँदै अमेरिकी सेना यसलाई खुला राख्नका लागि तम्तयार अवस्थामा रहेको चेतावनी दिएको छ।

यसअघि इरानका संसदीय सभामुख तथा अमेरिकासँगको मुख्य वार्ताकार मोहम्मद बगेर घालिबाफले एक्समा लेखेका थिए, ‘एकतर्फी सम्झौताको युग समाप्त भएको छ।’ उनले अगाडि लेखेका छन्, ‘हामीले भनेका थियौँ: आफ्नो वचन पूरा गर वा मूल्य चुकाऊ। वास्तविकतासामु आइसकेको छ।’