देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा भने आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

सोमबार देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने देखिन्छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा भने आंशिक बदली हुनेछ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षा हुने देखिन्छ।

कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।