ललिता साह, भक्तपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सूचना प्रविधिमा आधारित उद्यम र स्टार्टअप व्यवसायको विस्तारसँगै नेपाली युवाले रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण बिस्तारै तयार हुँदै गएको बताएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कार–२०८३’ कार्यक्रममा बोल्दै उनले युवाको सिर्जनशीलता र नवप्रवर्तनले देशमै रोजगारीका नयाँ अवसर सिर्जना गरिरहेको बताए।
स्टार्टअप प्रदर्शनीको अवलोकनपछि उनले प्रदर्शनीमा सहभागी युवा उद्यमीहरूको कामले आफूलाई उत्साहित बनाएको उल्लेख गर्दै भने, “नेपालमै सम्भावना रहेछ, काम भइरहेछ र यसलाई अझै विस्तार गर्न सकिने आधार देखिएको छ।
गाउँ–गाउँका युवा तथा महिला उद्यमीलाई स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यबाट अघि बढाउने योजना सरकारको छ।”
उनले प्रदर्शनीमा सहभागी १५ जना युवा उद्यमीमा उत्साह, ऊर्जा, प्रतिभा र बजारप्रतिको स्पष्ट दृष्टिकोण देखिएको भन्दै यस्ता प्रयासले देशमै रोजगारीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
डा. मल्लले राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सरकारले उद्यमशीलतालाई प्राथमिकता दिने नीति अघि बढाइरहेको जानकारी दिए। राष्ट्रिय महिला उद्यम विकास रणनीति निर्माणको तयारी भइरहेको र निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने पनि उनले बताए।
उनले नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयन र सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाउन आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, राष्ट्रिय परीक्षा बोर्डकी सहसचिव जयन्ती सत्याल, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहलगायतको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा देशभरबाट छनोट भएका १५ वटा सूचना प्रविधि उद्यम तथा स्टार्टअपले आफ्ना उत्पादन र सेवाको प्रदर्शन गरेका थिए। उत्कृष्ट छ जना युवा उद्यमी तथा स्टार्टअपलाई परिषद्ले जनही दुई लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।
पुरस्कार प्राप्त गर्नेमा सविना शर्मा, निकेश सिंह (ईकागजपत्र), सरला महर्जन (सकल बायो इन्जाइम नेपाल), आयुष अवस्थी (भ्रमिकाउ अर्गानिक मल), महेश्वरी कुमारी सिंह (सात्विका भण्डार) र रवि किरण श्रेष्ठ (देउसर होम कृषि प्रालि) रहेका छन्।







