एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

फ्रान्सको एकतर्फी जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने युवा खेलाडी ब्राड्ली बारकोलाले एक गोल थपे । खेलको सुरुवातदेखि नै स्वीडेनमाथि दबाब बनाएको फ्रान्सले पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको थियो ।

४५औं मिनेटमा किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको केही समयमै अर्थात् ५३औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

त्यस्तै, खेलको ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–० को सुनिश्चित जित दिलाए । फ्रान्सले खेल अवधिभर ६१ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो ।

फ्रान्सले विपक्षीको पोस्टमा जम्मा २५ पटक प्रहार गरेको थियो, जसमा १३ प्रहार ‘अन टार्गेट’ थिए । स्वीडेनले मात्र ७ पटक प्रहार गर्न सक्यो, जसमध्ये केवल ३ प्रहार मात्र फ्रेममा थिए ।

रक्षात्मक र आक्रामक दुवै पक्षमा फ्रान्स बलियो देखिएको यो खेलमा स्वीडेनले गोल गर्ने खासै ठुला अवसरहरू सिर्जना गर्न सकेन । यो सानदार जितसँगै फ्रान्स अब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ र उसले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । स्विडेन भने विश्वकपबाट बाहिरिएको छ ।

२७ वर्षकै उमेरमा एमबाप्पे विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले १८ खेलमा १८ गोल गरेका छन्, जुन औसतमा प्रति खेल एक गोल हो। अब उनी लियोनेल मेसीको १९ गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि छन्।

विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरू:
१. लियोनेल मेसी – २९ खेलमा १९ गोल
२. किलिएन एमबाप्पे – १८ खेलमा १८ गोल
३. मिरोस्लाभ क्लोस – २४ खेलमा १६ गोल
४. रोनाल्डो (ब्राजिल) – १९ खेलमा १५ गोल