काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची संशोधन गर्दै दुई सदस्यको नाम परिवर्तन गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम तथा उम्मेदवारीसँग सम्बन्धित कागजात पुनः अध्ययन गरेपछि संशोधित सूची सार्वजनिक गरेको हो।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत र क्लस्टर व्यवस्थापनका क्रममा देखिएको त्रुटि सच्याउँदै नयाँ निर्णय गरिएको हो। महाधिवेशनपछि केही उम्मेदवारले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा निर्वाचित हुन नसकेको भन्दै गुनासो गरेका थिए।
संशोधित निर्णयअनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुवकुमार थापामगरलाई निर्वाचित घोषणा गरिएको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजात तथा मत परिणामको पुनः परीक्षण गर्दा थापामगर नै निर्वाचित हुनुपर्ने निष्कर्षमा पुगेको जनाएको छ।
यस्तै, प्रादेशिक (भूगोल)तर्फ गण्डकी प्रदेशको मत परिणाम पुनरावलोकन गर्दा सोम शर्माको सट्टा पूजा बास्तोला निर्वाचित हुनुपर्ने देखिएकाले उनलाई केन्द्रीय सदस्य घोषणा गरिएको आयोगले जनाएको छ।
यससँगै केन्द्रीय सदस्यको सूचीबाट कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ भने ध्रुवकुमार थापामगर र पूजा बास्तोलाको नाम समावेश गरिएको छ।







