वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी र देशभक्तहरू ढिला नगरी तत्काल एक हुनुपर्ने बताएका छन्। उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए।

मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनता, निरंकुशताका विरूद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरूद्ध छिटोभन्दा वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ।’

उनले पार्टी एकता गरिहालौं भनेर आफूले नभनेको पनि बताए। तर सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिने उनको भनाइ थियो।

‘हामीले विगतमा मिलेको पनि हो, जनताले दुई तिहाइ पनि दिएको हो, यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हतारमा पार्टी एकता गर्ने र फुर्सदमा विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भनेर समीक्षा गर्नुपर्छ।’

उनले निरंकुशताविरूद्ध विगतमा मिलेरै सफलता प्राप्त गरिएको पनि स्मरण गरेका थिए। भदौ २४ पछि प्रतिक्रान्तिकारी कदम बढ्दै गएको बताउँदै उनले भने, ‘नेपालबाट कम्युनिस्ट आन्दोलनको प्रभाव सिद्ध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् ।’

प्रचण्डले विगतका कमजोरीबारे आफू समीक्षा गर्न तयार रहेको भन्दै सबै नेता त्यसमा तयार भएर राष्ट्रका सामु आएको चुनौतीको सामना मिलेर मात्र गर्न सकिने बताए।