काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल उपस्थित नभएको खुलेको छ।
प्रधान न्यायाधीश मनोजकुमार शर्माले बुधबार दिउँसो फुलकोर्ट बैठक बोलाएका थिए। सर्वोच्चको नीतिगत वा दीर्घकालीन विषय निर्णय गर्न वा छलफल गर्नुपरे बुधबार फुलकोर्ट (सबै न्यायाधीशहरू सम्मिलित ) बैठक बस्ने गर्छ।
पछिल्लो बुधबार सूचना प्रविधि नीति (आइटी पोलिसी) बारे छलफल गर्न प्रधान न्यायाधीश शर्माले फुलकोर्ट बोलाएका थिए। सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार बोलाइएको बैठकमा सूचना प्रविधि नीति (आइटी पोलिसी) बारे छलफल भएको हो।
‘आइटी पोलिसीसँग सम्बन्धित विषयमा छलफल भएको हो, त्यो छलफल अझै टुंगिएको छैन। अर्को बुधबार फेरि बैठकमा छलफल हुनेछ। छलफल सके पछि पारित हुन्छ,’ उनले भने।
प्रधानन्यायाधीशमा मनोज शर्मा नियुक्ति भएपछि राखिएको यो दोस्रो फूलकोर्ट थियो। यसअघि राखिएको बैठकमा कानुन पुस्तकालयसम्बन्धी एजेन्डा थियो। त्यो बैठकका बेला मल्ल बिदामा थिइन्। यसपालि मल्ल सर्वोच्च अदालतमा उपस्थित भए पनि फुलकोर्टमा नगएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
उनलाई फुलकोर्टका लागि जानकारी दिइएको थियो तर मल्ल आफै गइनन्। ‘उहाँलाई पनि बैठकमा बोलाइएको थियो। इजलासमा बस्नुभएको त थियो। तर बैठकमा उपस्थित हुनुभएन,’ स्रोतले भन्यो।
बुधबार न्यायाधीश मल्लको एकल र संयुक्त इजलास तोकिएको थियो। सचिवालय स्रोतले भने उनी बन्दी प्रत्यक्षीकरणसम्बन्धी एक रिटको फैसला लेखनमा व्यस्त थिइन्।
पछिल्लो समय न्यायाधीश मल्ल प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्ट छिन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको संवैधानिक परिषदले चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाएपछि उनी असन्तुष्ट थिइन्।
शर्माले नियुक्ति भएर पदभार सम्हालेपछि न्यायाधीश मल्ल २० दिनका लागि बिदामा बसेकी थिइन्। उनले शर्मा नियुक्ति हुनु अगाडि नै कामु प्रधानन्यायाधीशको हैसियतमा बिदा स्वीकृत गराएर बसेकी हुन्। उनी जेठ ६ गतेदेखि काममा फर्किएकी हुन्।







