धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शुक्रबार बिहान नदी तर्ने क्रममा आएको बाढीले बगाउँदा स्थानीय ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमलाको ज्यान गएको हो।
प्रहरीका अनुसार बिहान च्याउ टिप्न घरबाट निस्किएका उनीहरू खोलो तर्ने क्रममा अचानक आएको बाढीमा परेका थिए। चुरे क्षेत्रमा परेको वर्षाका कारण गोदावरी नदीमा पानीको बहाव बढेको बताइएको छ।
दुवै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिए।







