अमेरिकाले अघि सारेको प्रस्तावमाथि विचार गर्दैछौँ : इरान

तेहरान । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ। दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन रहेको स्पष्ट पारेको हो।

अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको दाबी गरेपछि यो विषय चर्चामा आएको छ। तर इरानी संसद्का एक वरिष्ठ सदस्यले यसलाई अमेरिकाको ‘इच्छाको सूची’ मात्र भन्दै खारेज गरिदिएका छन् भने विदेश मन्त्रालयका प्रवक्ताले तेहरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा मध्यस्थकर्ता पाकिस्तानसँग साझा गर्ने बताएका छन्।

पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश यो युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न प्रयासरत रहेको उल्लेख गरेका छन्। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग निकै राम्रो कुराकानी भएको र सम्झौता हुनसक्ने सम्भावना बलियो रहेको दाबी गरेका छन्।

सञ्चारमाध्यमका अनुसार अमेरिकी अधिकारीहरूले गोप्य राखेको उक्त एक पृष्ठको १४ बुँदे प्रस्तावले विस्तृत आणविक वार्ताका लागि एउटा ढाँचा तय गर्नेछ। यस प्रस्तावमा इरानी आणविक संवर्धनमा प्रतिबन्ध लगाउने, इरानमाथिका प्रतिबन्धहरू हटाउने र स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र पारवहन पुनः सुरु गर्ने जस्ता बुँदाहरू समावेश छन्।

तर यी सबै सर्तहरू अन्तिम सम्झौता भएपछि मात्र लागू हुने स्रोतहरूले बताएका छन्। समाचार एजेन्सी रोयटर्सले पनि यस प्रस्तावको पुष्टि गरे तापनि यसलाई आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी प्रस्तावको समीक्षा भइरहेको र निष्कर्षमा पुगेपछि मात्र पाकिस्तानलाई जानकारी दिइने बताएका छन्। यता इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता इब्राहिम रेजाईले भने सामाजिक सञ्जालमा अमेरिकाले हार्दै गरेको युद्धमा वार्ताबाट केही पनि हासिल गर्न नसक्ने टिप्पणी गरेका छन्। उनले इरानको औँला ट्रिगरमै रहेको र अमेरिकाले आत्मसमर्पण गरी आवश्यक सहुलियत नदिएमा कडा जवाफ फर्काइने चेतावनी दिएका छन्।

ट्रम्पले पनि सम्झौता नभए फेरि आक्रमण सुरु गर्ने धम्की दिएका छन्। उनले इरान सम्झौतामा सहमत नभए ‘बमबारी सुरु हुनेछ र त्यो यसअघिको भन्दा धेरै उच्च स्तर र तीव्रताको हुनेछ’ भन्दै चेतावनी दिएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुवियो ले अमेरिकी-इजरायली सैन्य अभियान ‘अपरेशन एपिक फ्युरी’ ले आफ्नो उद्देश्य पूरा गरेपछि अन्त्य भएको बताएका थिए। ट्रम्पले इरानले कहिल्यै आणविक हतियार नबनाउने कुरामा सहमति जनाएको दाबी गरे पनि तेहरानले यसको पुष्टि गरेको छैन।

तेलको प्रवाह सहज बनाउन र विश्व अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन भन्दै अमेरिकाले सञ्चालन गरेको ‘प्रोजेक्ट फ्रिडम’ लाई ट्रम्पले हालै स्थगित गरेका छन्। यस विषयमा इरानले औपचारिक प्रतिक्रिया नदिए पनि इरानी रेभुलुसनरी गार्ड्स (आईआरजीसी) ले आक्रमणको धम्की अन्त्य भएमा मात्र स्ट्रेट अफ होर्मुज खुल्ने संकेत गरेको छ।

संसारको २० प्रतिशत तेल ढुवानी हुने यस जलमार्गमा फेब्रुअरीदेखि नै अवरोध सिर्जना भएको छ। अप्रिलको सुरुमा युद्धविराम भए पनि अझैसम्म जहाजहरूको सहज आवतजावत हुनसकेको छैन।

यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान मामिलामा ट्रम्प र आफूबिच पूर्ण समन्वय रहेको बताएका छन्। उनले इरानबाट सबै संवर्धित आणविक सामग्री हटाउनु र उसको आणविक क्षमता नष्ट गर्नु नै आफूहरूको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्।

यो भनाइ आइरहँदा इजरायलले अप्रिलको युद्धविरामपछि पहिलोपटक लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गरेको छ। नेतन्याहुले इजरायली सेनामाथि आक्रमण गर्ने हिजबुल्लाहका कमाण्डरलाई निसाना बनाइएको बताएका छन्। युद्धविरामका बावजुद इजरायल र हिजबुल्लाहबिच एकअर्कालाई उल्लंघनको आरोप लगाउँदै आक्रमणहरू जारी रहेका छन्।