आधिकारिक उम्मेदवार विरूद्ध असहयोग गरेको आरोपमा कांग्रेसका सात नेतासँग स्पष्टीकरण माग

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवार विरूद्ध असहयोग गरेको आरोपमा सात जना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै सात जनालाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बसेको अनुशासन समितिको बैठक समितिका संयोजक तारामान गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैठकपछि जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का क्रममा पार्टीको आधिकारिक उम्मेदवार विरूद्ध काम गरेको आरोप लागेका नेताहरूलाई केन्द्रीय अनुशासन समितिमा पाँच दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।

स्पष्टीकरण सोधिएका नेताहरूमा महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), पूर्वकेन्द्रीय सदस्य तथा हाल कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेस प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन्।

कांग्रेसले उनीहरूमाथि पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध असहयोग गरेको प्रारम्भिक निष्कर्ष निकाल्दै अनुशासन समितिमा लिखित जबाफ पेस गर्न निर्देशन दिएको हो।

पार्टीको विधानअनुसार आधिकारिक उम्मेदवार विरूद्ध असहयोग गर्नु गम्भीर अनुशासनहीनता मानिन्छ। यस्तो गतिविधिमा संलग्न ठहरिएमा सम्बन्धित नेता–कार्यकर्तामाथि कारबाहीको व्यवस्था छ।

कांग्रेसले पछिल्ला निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवार विरूद्ध अन्तर्घात र असहयोगका घटना बढेको निष्कर्ष निकाल्दै त्यसलाई नियन्त्रण गर्न अनुशासनको कडाइ बढाउने संकेत गर्दै आएको छ।

अनुशासन समितिको निर्णयबारे कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।