झन्झटिला कामलाई छरितो बनाउन अध्यादेश ल्याइएको हो – रास्वपा

काठमाडौं । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ ।

सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको महामन्त्री समेत रहेका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार, सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका छैनन् ।

‘आम नागरिकको म्यान्डेट छिटो काम गर, भन्ने छ । हाम्रो कानुनको झमेला हेर्दा यो न्युनतम पनि ३/४ महिना लाग्ने देखिन्छ । जुन कुरा एक सटमा हुनुपर्छ,’ उनले उदाहरण प्रस्तुत गर्दै भने, ‘सडकको बीचमा रहेको रुख किन नकाटेको भन्ने कुरा आम नागरिकले उठाउँछन् । तर त्यो प्रक्रिया टुंग्याउँदा ५/६ महिना रुख काट्न नै लागेको देखिन्छ । त्यस्ता चिजलाई सम्बोधन गर्नुपर्छ भन्ने भएर अध्यादेशको काम गर्न लागेको छ ।’

उनले झन्झटिला प्रक्रियालाई छरितो गर्न पनि अध्यादेश ल्याइएको बताए । ‘कुनै व्यक्ति, पार्टीलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाबाट अघि बढ्ने सन्दर्भमा छरितो गर्नुपर्ने कुरालाई सम्बोधन गरेको हो,’ रास्वपाले भने ।