ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलासा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाएको भनेर पक्राउ परेका आरोपित ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलेको छ।

वासिङ्टन हिल्टन होटलमा शनिबार ह्वाइट हाउस संवाददाताहरूले राखेको रात्री भोजमा भएको गोलीकाण्डका आरोपित क्यालिफोर्निया राज्यको टोरन्सका कोल टोमस एलेन रहेको सुरक्षा अधिकारीहरूले पहिचान गरेका छन्।

आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन। अहिलेसम्म खुलेको छैन। तर संघीय निर्वाचन आयोगको अभिलेखका अनुसार सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अघि उनले ट्रम्पकी प्रतिद्न्दी कमला ह्यारिसलाई २५ डलर चन्दा दिएका थिए।

क्यालिफोर्निया इन्सटिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) बाट स्नातक गरेका एलेन ‘पार्ट-टाइम’ शिक्षकका रूपमा काम गर्थे। उनी भिडियो गेम डेभेलपर रहेको पनि खुलेको छ।

कोलसँग सम्बन्धित फेसबुक पोस्टहरूका अनुसार, उनलाई डिसेम्बर २०२४ मा टोरन्सस्थित ‘सी२ एजुकेसन’को कार्यालयले महिनाको उत्कृष्ट शिक्षक घोषित गरेको थियो।

‘सी२ एजुकेसन’ कलेज जान चाहने विद्यार्थीहरूका लागि देशव्यापी रूपमा सञ्चालित एक निजी परीक्षा तयारी र ट्युसन सेवा हो। अन्दाजी ३१ वर्षका एलेन कार्यक्रम हुने वासिङ्टन हिल्टन होटलमा पाहुनाका रूपमा बसेको प्रहरीले अनुमान गरेको छ।

उनको नाममा रहेको लिन्क्डइन प्रोफाइलमा उनले आफूलाई डिग्रीले मेकानिकल इन्जिनियर र कम्प्युटर वैज्ञानिक, अनुभवले स्वतन्त्र गेम डेभेलपर, र जन्मले शिक्षक भनेर वर्णन गरेको रोयटर्सले जनाएको छ।

उक्त प्रोफाइलका अनुसार उनले २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र २०२५ मा क्यालिफोर्निया स्टेट युनिभर्सिटीको डमिंग्वेज हिल्सबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेका थिए। क्याल्टेकले एक विज्ञप्ति जारी गर्दै उक्त नामको व्यक्तिले २०१७ मा स्नातक गरेको पुष्टि गरेको छ।

उनले विगत केही वर्षदेखि ‘सी२ एजुकेसन’मा ‘पार्ट-टाइम’ शिक्षकका रूपमा काम गरिरहेका थिए। उनले आफ्नो टोलीले जितेको रोबोटिक्स प्रतियोगिता सम्बन्धी स्थानीय पत्रिकामा छापिएको एक लेख पनि प्रोफाइलमा राखेका छन्।