नेकपाको संयोजन समितिको बैठक भोलि !

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।

ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव आउन सक्नेछ ।

चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे निर्णय लिन चैत १९ गते संयोजन समितिको बैठक बोलाइएको थियो । चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरू लिखित र अलिखित धारणा राखेका थिए ।

वैशाख ३ गते बसेको बैठकमा बैठकमा उठेका प्रश्नको जवाफ संयोजक र सह–संयोजकले दिएका थिए । निर्णय प्रस्ताव ल्याउने जिम्मा प्रचण्ड र माधवलाई दिएपछि बैठक स्थगित भएको थियो । पार्टी नेतृत्वले ल्याएको प्रस्तावमाथि निर्णय प्रस्ताव अनुमोदन गरेपछि बैठक सकिने नेता ज्वालाले जानकारी दिए ।

उनका अनुसार प्रदेश इन्चार्ज÷सह–इन्चार्ज, संयोजक/सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाट नै तोकिने छ । जिम्मेवारी तोक्दा साबिक पार्टीमा पाएको जिम्मेवारीलाई अल्टर हुने गरी मापदण्ड बनाइने छ । 

भूगोलमा कार्य विभाजन तोकेको जस्तै विभागीय जिम्मेवारी तोकिने ज्वालाले बताए । एकता अगाडि माओवादी केन्द्र र एकीकृत समाजवादीमा ३२ वटा विभाग रहेको थियो । एकतापछि विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी तोकिनेछ ।