भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् ।
सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराका सुकुमवासीले बस्ती छाडेका हुन् ।
सरकारको सुकुमवासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७७७ परिवारले बस्ती छाड्न थालेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमवासी बस्तीका ८० प्रतिशतले आज दिउँसो अपरान्हसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिए ।
बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेका बताउँदै उनले शुक्रबार बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुमवासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिए ।
मनोहरा सुकुमवासी बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसिरहेका उनले जानकारी दिए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै साँझसम्म भत्काउन तयारीका साथ भक्तपुरबाट करिब १०० भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका उनले जानकारी दिए ।







