स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई थर्काउने रास्वपा सांसद विश्वराजको चौतर्फी विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ ।

ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा अथ्र्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भन्दै थर्काएका थिए ।

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ । पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

पोखरेलको नाम नलिइकन पुनले सांसद जनताको नोकर भएको उनलाई सुझाव दिएका छन् । ‘यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ,’ पूर्वमन्त्री एवं म्याग्दीबाट निर्वाचित पुन भन्छन्,‘५ बर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनुपर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्‍यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्‍यो । सासंद पदको बेइज्जत नै गर्‍यो त ।’

पोखरेलले गरेको व्यवहारप्रति रास्वपाका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य एवं मोरङ-३ बाट निर्वाचित गणेश कार्कीले ‘भुई नछोड्न’ पोखरेललाई सुझाव दिएका छन् । सांसदलाई ‘माननीय’ भनिएको राम्रो नसुनिने कार्कीको टिप्पणी छ । पोखरेललाई लक्षित गर्दैै कार्की सामाजिक सञ्जालमा लेख्छन्,‘यही सांसद पद पनि बढीमा ५ वर्ष हो । के बानी पार्नु ? अनि ‘हजुर एक भोट दिनुस् न’ भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु ! भुईं नछोडौँ न है ।’

रास्वपाका कार्यकर्ता पनि सांसद पोखरेलले देखाएको व्यवहारप्रति रुष्ट बनेका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेल लक्षित टिप्पणीहरु रास्वपा कार्यकर्ताले व्यक्त गरिरहेका छन् । रास्वपाको स्थापनकाल देखि पार्टी कार्यमा सक्रिय स्वस्तिका लामिछानेले मतदातालाई थकाएको भन्दै पोखरेलको व्यवहारको आपत्ति जनाएइकी छन् ।

‘माननीय ज्युले बोल्न सिक्नु पर्ने रहेछ । बरु, बोल्न सिक्ने कक्षा सुरु गर्नुस् । हामी सिकाइदिउँला जनतासँग कसरी बोल्ने भनेर । ४ वर्षको अनुभव छ हामीसँग,’ नेतृ लामिछाने लेख्छिन्,‘फौजीमा आफूभन्दा सानालाइ थर्काए जसरी आफ्ना मतदाता थर्काउन पाइँदैन हेक्का रहोस् । तपाईंलाई माननीय बनाउन हाम्रो मेहेनत कति छ भन्ने तपाईंलाई थाहा छैन होला । ४ वर्ष देखि गरेको हाम्रो दु: खको कदर गर्दिनुहोला । माननीय भएँ भन्दैमा मैमत्ता हुने काम बन्द गरियोस् । कस्ले बनायो माननीय यिनै जनताले होइन ? माथि उचाल्न सक्नेले भुईंमा पछार्न नि सक्छ्न हेक्का रहोस् ।’