संसारको सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।
म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकारबाट नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेको व्यक्तित्वका रूपमा प्रस्तुत गर्दै उनको राजनीतिक यात्रालाई दक्षिण एसियामा नयाँ तरङ्ग ल्याउने उदाहरणका रूपमा व्याख्या गरेको छ।

शाहको उदयलाई युवा पुस्ताको समर्थन र परम्परागत राजनीतिक दलप्रतिको असन्तुष्टिसँग जोड्दै उनको नेतृत्वले नयाँ राजनीतिक दिशाको संकेत गरेको उल्लेख गरिएको छ।

काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको सुधारलाई म्यागेजिनले विशेष रूपमा उल्लेख गरेको छ। प्रधानमन्त्रीको भूमिकामा पुगेपछि पनि जनताको उच्च अपेक्षा र विश्वाससँगै उनको नेतृत्वको परीक्षण भइरहेको जनाइएको छ।