भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने

भक्तपुर । बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालले बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । विविध भाषाभाषीका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले यो सेवा शुरु गर्ने भएको हो ।

बिहीवार सम्पन्न सामाजिक परीक्षणको प्रस्तुतीकरण एवं आमभेलामा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पहिलो चरणमा नेवारी र तामाङ्ग भाषालाई व्यवहारमा ल्याइने बताए । बागमती प्रदेश सरकारले यी दुई भाषालाई सरकारी कामकाजको भाषा बनाइसकेको उल्लेख गर्दै उनले अस्पतालमा आउने सेवाग्राहीलाई उनीहरुकै भाषामा सेवा दिँदा अपनत्व बढ्ने बताए । ” प्राविधिक र अप्राविधिक सबै स्टाफलाई स्थानीय भाषाको ज्ञान र प्रयोगको प्रभावकारीता बारे कक्षा संचालन गरी बहुभाषिक स्वास्थ्य सेवा शुरु गर्ने तयारी गरिएको छ ।” अध्यक्ष श्रेष्ठले भने ।

बहुभाषिक स्वास्थ्य सेवाबाट विरामीले आफ्नो समस्या स्पष्ट भन्न सक्ने र रोग पहिचान तथा उपचारमा सहज हुने अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टको भनाइ छ । यसले बिरामी र स्वास्थ्यकर्मीबीचको संवाद र सम्बन्धलाई समेत सुमधुर बनाउने उनले बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा भक्तपुर जेसिसका पूर्व अध्यक्ष दीपचन्द्र शाक्यले पछिल्लो समय भक्तपुर अस्पताल बिरामीको पहिलो रोजाई बन्न सफल भएको बताए । संघ अन्तर्गत रहँदा रिफर सेन्टरको रुपमा रहेको अस्पताल प्रदेश सरकारले संचालन गर्न थालेपछि भने हेर्दाहेर्दै सुविधा सम्पन्न बनेको उनले बताएका छन् ।

अर्का स्थानीय देवचन्द्र बज्राचार्यले भक्तपुर अस्पतालले बिमालाई थप व्यवस्थित गर्दै छिटोछरितो सेवा दिन सुझाव दिए भने स्थानीय रामकुमार फाजुले सक्नेसंग शुल्क लिएर पेइंग क्लिनिकलाई आकर्षक बनाउनुपर्ने बताए । जेष्ठ नागरिकका लागि सहज पहुँच, निशुल्क उपचार र गुणस्तरीय सेवाका लागि भक्तपुर अस्पताल उत्कृष्ट रहेको साहित्यकार समेत रहेका स्थानीय सेवाग्राही धनमान श्रेष्ठले अनुभव सुनाए ।

अस्पताल व्यवस्थापन समितिका सदस्य महेद्रगोपाल कर्माचार्यले अस्पतालको जग्गा १८ रोपनि ४ आना भए पनि हाल ६ रोपनि मात्र भोगचलनमा रहेकोले अपर्याप्त भएको भन्दै आफ्नो जग्गा पुनप्राप्तिको पहल गर्नुपर्नेमा जोड दिए ।

दुरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स र मानसिक रोगको निशुल्क सेवा, मुख्यमन्त्री जनता कार्यक्रम मार्फत नसर्ने रोगको निशुल्क स्क्रिनिङ, सुविधासम्पन्न प्रसुती सेवा, एनआइसीयु, एचडियु आफ्नै अक्सिजन प्लान्टसेवा, सिटी स्क्यान सेवा र डायलासिस सेवा लगायतले गर्दा भक्तपुर अस्पतालमा दिनहु करिब १ हजार बढी बिरामी उपचार गर्न आउने गरेका छन् ।

भक्तपुर अस्पताल वीर अस्पताल पछिको उपत्यकाकै दोश्रो जेठो अस्पताल हो । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा लगातार तीनवर्ष देखि सर्वोत्कृष्ट रहन सफल रहेको छ । प्रदेश सरकार मातहत जानु अघि ७५ शैयाको अस्पताल हाल १ सय ८८ शैयाको सुविधा सम्पन्न अस्पतालको रुपमा संचालनमा रहेको छ भने अस्पताललाई ३ सय शैयामा बिस्तार गर्ने प्रदेश सरकारले घोषणा गरिसकेको छ ।

सामाजिक परीक्षणको प्रस्तुतीकरण एवं आमभेलामा सहभागीहरुले अस्पतालको भौतिक संरचना पुनरावलोकन गरी उचित फ्लोर प्लानिङ्ग गर्नुपर्ने, अस्पताल सरसफाइ उन्मुख भएतापनि फोहर व्यवस्थापन कक्षको भण्डारणलाई उचित व्यवस्थापन गर्नुपर्ने, भीड व्यवस्थापन र छिटो सेवाको व्यवस्था गर्नुपर्ने तथा निरन्तर निगरानीमा जोड दिएका छन ।