ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा रिहा गरिएको हो । उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।

यसअघि प्रहरीको टोलीले महाराजगञ्जस्थित अस्पताल परिसरबाटै ओलीलाई पत्नी राधिका शाक्यसहितका आफन्तको जिम्मा लगाएको थियो ।

ओलीसँगै पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक भद्रकालीस्थित प्रहरी हिरासतमै बसे । ओली भने चैत १५ गतेदेखि शिक्षण अस्पतालमा बसेर रिहा भए ।

गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती प्रकरणमा मुख्य जिम्मेवार भएको आरोपसहित सरकारले गत चैत १४ गते लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको थियो।