काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो ।
आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।
कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रोटोकल प्रमुख कुमार राई तथा सार्वजनिक कूटनीति महाशाखा प्रमुख एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहनेछ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, काठमाडौंस्थित कूटनीतिज्ञ र दातृ निकायका प्रमुखहरूबाट प्रधानमन्त्री बोलनसँग भेटका लागि दुई दर्जनभन्दा बढी अनुरोध प्राप्त भएका छन् । तर, बालेनले व्यक्तिगत भेटमा रुचि नदेखाएर सामूहिक छलफलमा बोलाएको स्रोतले बतायो ।







