पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुनेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।