दुईतर्फी खुल्यो शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शुक्रबार राति अस्थायी डाइभर्सन बाढीले बगाएपछि अवरूद्ध बिपी राजमार्ग दुई तर्फ सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार ६ बजेबाट बिपी राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ।

मौसमको प्रतिकूलतालाई ध्यानमा यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिबार रातिदेखि सडक नखुलेसम्म बिपी राजमार्गमा सवारी आवागनममा रोक लगाएको थियो।

शुक्रबार साँझको वर्षातपछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो।

जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा थियो। शनिबार सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा सडकलाई अस्थायी निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइए पनि शनिबारको पटकपटकको वर्षाका कारण सञ्चालनमा ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जानकारी दियो।

२०८१ साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिएको थियो।

रोशी खोलामा आएको बाढीले बगाएर शुक्रबार राति ९ः०० बजे रोशी गाउँपालिका–७ निबासी अन्दाजी ४० वर्षका कुन्साङ तामाङको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार उक्त कार्यालयका सुपरभाइजर मृतक तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन बिपी राजमार्गमा समेत काम गर्ने गरेको थिए।

शुक्रबार नै चौकीडाँडा खण्ड नजिकै रोशी खोलाको बाढीमा सात जना फसेका थिए। उनीहरूलाई उद्धार गरिएको थियो। प्रहरीका अनुसार शुक्रबारको बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी बगाएको थियो।