काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदै छ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको धार्मिक विश्वास छ। विष्णुको सातौँ अवतार मानिने श्रीरामको जन्म पुनर्वसु नक्षत्रमा कर्कट लग्नमा भएको उल्लेख गरिन्छ।
भगवान् रामचन्द्रको जन्मकुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकै स्थानमा रहने दुर्लभ योग परेको मानिन्छ। वासन्तीय नवरात्रको नवमीका दिन जन्मनुभएका श्रीरामले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श ‘रामराज्य’ स्थापना गर्नुभएको विश्वास गरिन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी पर्वको मूल सन्देश मर्यादित, अनुशासित र आदर्श शासन प्रणालीको कामना गर्नु हो। “रामराज्यमा जस्तै शासक र जनता दुवै मर्यादित र अनुशासित थिए, त्यसैले श्रीरामलाई ‘मर्यादा पुरुषोत्तम’ भनिन्छ,” उनले बताए।
धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमीमा अष्टमातृकाको पूजा गरी नवमीका दिन भगवान् रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ। यस अवसरमा नेपालका जनकपुर तथा भारतको अयोध्यामा विशेष रूपमा रामलीला प्रदर्शन गरिन्छ।
रामनवमीका दिन देवीपूजा गरी भगवान् रामचन्द्रको आराधना गर्दा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ। परम्पराअनुसार वासन्तीय नवरात्रलाई प्राचीनकालमा मुख्य दसैँका रूपमा मनाइन्थ्यो, तर गर्मीका कारण पछि असोजमा सारिएको भनाइ पाइन्छ।
व्रतार्क तथा अगस्त्य संहितामा उल्लेख भएअनुसार यस दिन व्रत बसी श्रद्धापूर्वक पूजा गर्नाले पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने विश्वास छ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा गरिन्छ। जनकपुरस्थित रामजानकी मन्दिरमा आज विशेष मेला लाग्ने र नेपाल–भारतबाट श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ।
यस दिन पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी व्रत बस्ने, रामायण (वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय) वाचन गर्ने, रामगीता पाठ तथा भजन–कीर्तन गर्ने परम्परा रहिआएको छ।






