सङ्घीय संसदमा सिट सङ्ख्याअनुसार दललाई संसदीय कार्यालय व्यवस्थापन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि सिट सङ्ख्याका आधारमा संसदीय कार्यालय व्यवस्थापन गरेको छ ।

सिंहदरबारमा नयाँ संसद् निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद् सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सिट सङ्ख्या फेरबदल भयसँगै त्यही अनुसार दलको कार्यालय व्यवस्था गरिएको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसद् सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलब्ध गराइएको छ ।

त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए ।

उनले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहीबाट संसद् र संसदीय गतिविधि हुने जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ । सांसदहरूको शपथ चैत १२ गते हुने तय भएको छ।