आमापछि भेरीमा बेपत्ता छोरीको शव पनि भेटियो, ५ वर्षीय छोराको खोजी जारी

दाङ । भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ। मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो।

सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो। अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ।उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन्।

मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै छन्। श्रीमान्–श्रीमतीका बीचमा घर झगडा भएपछि माया आफ्ना दुई सन्तानसहित जिल्लाकै लेकबेसी नगरपालिका–३ पटारेस्थित काकाको घरमा तीन दिनअघि गएकी थिइन्।

गुर्भाकोट नगरपालिका १२ का वडाध्यक्ष तुल्सीप्रसाद शर्माका अनुसार श्रीमान् भूपेन्द्र शनिबार रिसाएर गएकी श्रीमतिसहित सन्तान लिन काकाको घरमा पुगेका थिए। मायाले आइतबार बिहानै घर फर्किने बाचा गरेकी थिइन्।

काकाको घरबाट हिँडे पनि माया सन्तानसहित घर भने पुगिनन्। त्यसपछि उनको खोजी सुरु भएको थियो। घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने सल, मोबाइल फोन, चप्पल र झोला फेला परेको थियो।

त्यसपछि मायाले सन्तानसहित भेरी नदीमा हाम फालेको आशंकामा खोजी सुरु भएको थियो। मायाको शव लेकबेसी–३ स्थित भेरी नदीको खोँचमा फेला परेको हो। ११ वर्षीया छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट–१३ भम्का नजिकै भेरी नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।

बेपत्ता ५ वर्षीय बालक दीपक कठायतको खोजी जारी छ। आमाले दुई सन्तानसहित भेरीमा प्रवेश गरेको घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।