अप्रिल १५ अब ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’, नेपालको प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको पहलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ सम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाबाट पारित भएको उक्त प्रस्तावअनुसार अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर आरोग्य दिवसका रुपमा मनाइने भएको छ।

पारित प्रस्तावले स्वास्थ्यलाई केवल रोग नलाग्ने अवस्थामात्र नभई मानिसको शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय समग्र कल्याणसँग जोडिएको अवधारणाका रूपमा व्याख्या गरेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार प्रस्तावले स्वस्थ समाज निर्माणका लागि रोकथाममा आधारित स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा सबैलाई पहुँच हुने समावेशी स्वास्थ्य प्रणाली विकासमा जोड दिएको छ।

उनले प्रस्ताव पारित गर्ने क्रममा विभिन्न देशबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई नेपालको कूटनीतिक पहलको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।