
काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुनुपर्ने आवश्यकता बोध गरेका हुन् ।
कार्यक्रमको शुरुवात गर्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले महिलाहरुलाई सुर्तीमा आकर्षण गर्न उद्यमीहरुले विभिन्न छलछाम गरिरहेको बताए । उनले सामाजिक सञ्जाल र चलचित्रमार्फत महिलाले सुर्ती सेवन गर्नु पनि सामान्य हो अनि सुर्ती सेवन गरेर पुरुष र महिला बराबर हुन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको दृष्टान्त पेश गरे ।
इ सिगरेट र भेप संस्कतिमार्फत महिलालाई कुसंस्कारमा धकेलिरहेको पनि स्पष्ट पारे । अहिलेको परिस्थितिमा सुर्ती नियन्त्रणसम्वन्धी कानुन कार्यान्वयन र सुर्ती नियन्त्रणमा उद्योगी व्यवसायीको हस्तक्षेप विरुद्ध सशक्त आवाज उठाउन महिलाहरुको भूमिका अपरिहार्य रहेको धारणा उनले राखे ।
कार्यक्रममा सहभागी वक्ताहरूले सुर्ती उद्योगले नयाँ–नयाँ रणनीतिहरू प्रयोग गर्दै महिलालाई लक्षित गरी बजार विस्तार गर्ने प्रयास गरिरहेको बताए । उनीहरूले विशेषगरी सामाजिक सञ्जाल, लाइफस्टाइल मार्केटिङ, आकर्षक प्याकेजिङ तथा स्वादयुक्त उत्पादनमार्फत युवतीहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको धारणा राखे ।
वक्ताहरूका अनुसार नेपालमा महिलामा सुर्ती प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ । विशेषगरी शहरी युवतीहरूबीच खबउभ तथा ई–सिगरेट जस्ता नयाँ उत्पादनप्रति आकर्षण बढ्दै गएको संकेत देखिएको उनीहरूले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंहले सुर्ती उद्योगले महिलाको स्वतन्त्रता र आधुनिकताको छविलाई प्रयोग गरेर बजार विस्तार गर्ने रणनीति अपनाउने गरेको बताइन् । उनका अनुसार धुम्रपानलाई स्वतन्त्रता र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नु उद्योगको दीर्घकालीन मार्केटिङ रणनीति हो ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले महिलामा सुर्ती प्रयोगको असर निकै गम्भीर हुने बताए । उनीहरूका अनुसार धुम्रपानले महिलामा क्यान्सर, मुटुरोग तथा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
विशेषज्ञहरूका अनुसार गर्भवती महिलाले सुर्ती प्रयोग गर्दा गर्भपतन, कम तौलका शिशु जन्मिने तथा समयभन्दा अगाडि बच्चा जन्मिने जोखिम बढ्ने गर्दछ । यसले मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष सर्मिला कार्कीले सुर्ती उद्योगले नीति निर्माण प्रक्रियामा पनि प्रभाव पार्ने प्रयास गर्ने गरेको बताइन् । कर वृद्धि रोक्ने प्रयास, कानून कार्यान्वयन कमजोर बनाउने प्रयास तथा नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने रणनीति उद्योगले अपनाउने गरेको उनले उल्लेख गरिन् ।
वातावरणविद डा अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणका लागि कानून भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । विशेषगरी सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रण तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचारलाई रोक्न अझ कडा कदम आवश्यक रहेको उनको भनाइ थियो । सुर्ती सेवनले जसरी मानव स्वास्थ्य विगारिरहेको छ, त्यसको सयौं गुणा वातावरण फोहर गरी विनास गरिरहेको उनले टिप्पणी गरिन् ।
कार्यक्रममा महिला नेतृहरूले सुर्ती नियन्त्रण अभियानमा महिला आन्दोलनको भूमिका महत्वपूर्ण हुन सक्नेमा पनि जोड दिएका थिए । उनीहरूले महिला समूह, आमा समूह तथा स्थानीय तहका महिला प्रतिनिधिहरूले सुर्ती नियन्त्रणका लागि समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न सक्ने बताए ।
वक्ताहरूले विद्यालय तथा विश्वविद्यालय स्तरमा युवालाई लक्षित स्वास्थ्य शिक्षा कार्यक्रम आवश्यक रहेको पनि बताएका छन् । विशेषगरी भेप तथा ई–सिगरेट सुरक्षित विकल्प होइन भन्ने सन्देश युवामाझ फैलाउन आवश्यक रहेको उनीहरूले बताए ।
कार्यक्रममा सहभागीहरूले सुर्ती नियन्त्रणका लागि सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र तथा सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे । उनीहरूले सुर्तीजन्य पदार्थमा कर वृद्धि, स्वादयुक्त उत्पादनमा नियन्त्रण तथा युवालाई लक्षित प्रचार रोक्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यक्रमको अन्त्यमा वक्ताहरूले महिला सशक्तीकरण र सुर्तीमुक्त समाजबीच गहिरो सम्बन्ध रहेको बताए । उनीहरूले महिलाको नेतृत्व र सामूहिक प्रयासबाट सुर्तीमुक्त समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका थिए ।







