लगातार तेस्रो पटक सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्याण्ड

मुम्बई । टी-२० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्याण्डबिच खेलिँदैछ। यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ ।

दुवै टोली सेमिफाइनलमा लगातार तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि २०२२ र २०२४ मा पनि यी दुईबिच सेमिफाइनलमै प्रतिस्पर्धा भएको थियो, जसमा दुवैले १-१ खेल जितेका थिए। रोचक कुरा के छ भने, सेमिफाइनलमा एकअर्कालाई हराउने टोलीले नै ती वर्षको विश्वकपको उपाधि उचालेका थिए।

दुवै टोलीको यो छैटौँ सेमिफाइनल

भारतीय टोली छैटौँ पटक टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको हो। यसअघि भारतले सन् २००७, २०१४, २०१६, २०२२ र २०२४ मा पनि शीर्ष ४ मा स्थान बनाएको थियो, जसमध्ये ५ मा ३ सेमिफाइनल जितेको थियो।

त्यस्तै, इंग्ल्याण्डले पनि छैटौँ पटक सेमिफाइनल खेल्दैछ। यसअघि इंग्लिस टोली सन् २०१०, २०१६, २०२१, २०२२ र २०२४ मा यस चरणसम्म पुगेको थियो, जसमा ३ सेमिफाइनल जितेर फाइनलको यात्रा तय गरेको थियो।

विश्वकपमा छैटौँ पटक आमनेसामने

भारत र इंग्ल्याण्डबीच हालसम्म कुल २९ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा भारतले १७ र इंग्ल्याण्डले १२ खेल जितेका छन्। टी-२० विश्वकपको इतिहासमा भने दुवै टोलीले ५ खेल खेलेका छन्, जसमा भारत ३ र इंग्ल्याण्ड २ खेलमा विजयी भएका छन्।

यस टी-२० विश्वकपमा भारतका लागि कप्तान सूर्यकुमार यादव सानदार लयमा देखिएका छन्। उनले ७ खेलमा २३१ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट स्कोर ८४ रन रहेको छ। बलिङतर्फ वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलमा १२ विकेट लिएका छन्।

यस विश्वकपमा इंग्ल्याण्डका लागि ह्यारी ब्रुक ब्याटिङमा सबैभन्दा प्रभावशाली खेलाडी साबित भएका छन्। उनले ७ खेलमा २२८ रन बनाएका छन्। बलिङ विभागमा स्पिनर आदिल रसिदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै ७ खेलमा ११ विकेट आफ्नो नाम गरेका छन्।