काठमाडौँ । फ्रान्सको लियोन शहरमा शनिबार हजारौं मानिसहरू सडकमा निस्किएर प्रदर्शन गरे।
उनीहरूले आफ्नो पहिचान गोप्य राख्न अनुहारमा मास्क र चस्मा लगाएका थिए। प्रदर्शन क्रममा उनीहरूले ठूलो ब्यानर बोकेका थिए। जसमा लेखिएको थियो- क्वेन्टिन डेरान्कलाई न्याय दे।
दक्षिणपन्थी कार्यकर्ता डेरान्कको गत साता हत्या भएको थियो। घटनामा सात जनामाथि अनुसन्धान भइरहेको छ। सातमध्ये एक जना उग्रवामपन्थी पार्टी ला फ्रान्स इन्सुमिजका एक पूर्वसहयोगी भएको खुलेको छ। उक्त पार्टीले भने घटनाको निन्दा गरेको छ।
उनीहरूले कुटी कुटी डेरान्कको हत्या गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। उग्रवामपन्थीहरूले कुटपिट गर्दा डेरान्कको मृत्यु भएको भन्ने खबर सार्वजनिक भएपछि दक्षिणपन्थीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनको नेतृत्व गर्भपतनको विरोधी अभियानको नेतृत्व एलित्ते एसपियुक्सले गरेकी थिइन्। प्रदर्शनमा लियोन सहरमा मात्रै साढे ३ हजार मानिसहरू सहभागी भएको बताइएको छ। फ्रान्सका अन्य सहरमा पनि ससाना प्रदर्शन भएको रोयटर्सले लेखेको छ।
फ्रान्समा दक्षिणपन्थी वा उग्रवामपन्थी चरम विचारसँग जोडिएर प्रदर्शनमा देखिनु व्यक्तिगत र पेशागत जीवनमा नकारात्मक असर पार्न सक्छ। त्यसैले प्रदर्शनकारीहरू धेरैले मास्क र चस्मा लगाएको हुनसक्ने बताइएको छ।
प्रदर्शनकारीहरूले ‘हामी हाम्रो घरमै छौं’ लगायतका नारा लगाएका थिए। तर प्रदर्शनमै केही समूहले नाजी सलाम र जातीय अपमानजनक अभिव्यक्ति दिएको भिडिओ समेत सार्वजनिक भएपछि त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ।
लियोनमा दक्षिणपन्थी र उग्रवामपन्थी समूह दुवैको उपस्थिति हुने भएकाले प्रहरीले हिंसात्मक घटना हुने डर व्यक्त गरेको थियो। राति ८ बजेपछि प्रदर्शन मुख्यतया सकिएको भए पनि शहरमा सुरक्षा बलको उपस्थिति बढाइएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले प्रदर्शन अघि शनिबार बिहान शान्ति कायम राख्न आह्वान गरेका छन्।







