काठमाडौँ । तपाईं टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ।
राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ। रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न सकिनेछ।
युवामाझ लोकप्रिय रहेको सामाजिक सञ्जाललाई आयोगले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्न लागेको छ । यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर आयोगले टिकटक भिडिओ बनाउने निर्वाचनलाई केन्द्रमा राखेर निर्वाचन आयोगले टिकटक भिडियो बनाउने अभियान चलाउने भएको छ।
राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ। निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि यस खालको प्रतियोगिता अगाडि बढाउन लागेको हो ।
निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित भएर एक मिनेट बराबरको टिकटक भिडियो बनाई आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्ने छ । यही फागुन १७ गतेसम्म आयोगको इमेलमा समेत टिकटक पठाउनुपर्नेछ ।
आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ। आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ ।
टिकटक भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिवेशमा तयार पार्नुपर्नेछ । भिडियो संवादमूलक एवं सन्देशमूलक हुनुपर्नेछ। आफ्ने मौलिक, अडिओ र अभिनय भएको भिडिओलाई विशेष प्राथमिकता दिइने आयोगले जनाएको छ।
निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता, महत्व र मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्यका बारेमा जानकारी दिइएको हुनुपर्नेछ।
यस्तै, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीजस्ता छुट्टाछुट्टै विषयवस्तुमा आधारित भएर भिडिओ बनाउनुपर्नेछ ।
कुनै एक व्यक्तिले एउटा विषयमा एउटा भिडियो पठाउन सक्नेछन्। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर भिडिओ निर्माण गर्न सक्ने आयोगले जनाएको छ। त्यसरी प्राप्त भएका भिडियोमा आयोगको अधिकार रहनेछ।
भिडियो सन्देशलाई आयोगले आफ्ना सामाजिक सञ्जालबाट प्रसारण गर्न स्क्नेछ। तोकिएको शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन। उत्कृष्ट भिडिओको छनोट स्वतन्त्र विज्ञ तथा आयोगबाट हुने सूचनामा उल्लेख छ।







