मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम, मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार यूएईसँग खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ ।

विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछन् ।नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ।

नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ। यो नेपालको तेस्रो विश्वकप यात्रा हो।