साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ : रामप्रसाद भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ ।

‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो, त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ’, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । उनका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ ।

त्यस्तै गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।