काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’
उनले कांग्रेस कुनै ‘बा’हरूको पनि पार्टी नभएको भन्दै प्रश्न गर्न सक्ने पार्टी भएकाले कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए ।
उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको भन्दै त्यहाँ दुई वटा महामन्त्रीले दु:ख दिइरहेको भनेर सुझाव दिएको हुनसक्ने भन्दै यसअघि पनि विभिन्न घटनामा सुझाव दिने पनि आफूहरू नै रहेको बताए ।
‘समय आएको छ, अब तपाईँले आराम गर्नुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ’, थापाले भने, ‘यसो भन्दै गर्दा मंसिरभित्र महाधिवेशन गर्नुस् भनेर कार्यवाहक दिएको होइन ?’ उनले देउवासँग माया गरेर नै छाड्न आग्रह गरे पनि घुम्नेहरूले देउवालाई माया नगरेको दाबी समेत गरे ।
थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिको आक्रोश सडमा अभिव्यक्त भएको बताएका छन्। ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो,’ कांग्रेसको दोस्रो विशेष महाधिवेशनको जारी उद्घाटन सत्रमा महामन्त्री थापाले भने।
उनले अगाडि भने, ‘त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थियो? हामी थियौं। उनीहरू संसदसँग रिसाएका थिए। त्यो संसदमा को थिए? हामी थियौं। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’
महामन्त्री थापाले पछिल्लो समय आफूले देखेका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र चासो आफूले कहिल्यै नदेखेको पनि उल्लेख गरे।
‘तपाईंहरूको उपस्थितिले पनि देखाउँछ, यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुछ,’ उनले भने।
आफूहरूले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होस् भन्ने चाहेको महामन्त्री थापाले उल्लेख गरे।






