काठमाडौं । बजारमा नक्कली खानेपानी खुलेआम बिक्री हुन थालेपछि सार्वजनिक स्वास्थ्य नै जोखिममा परेको छ। बजारमा विभिन्न कम्पनीको ट्रेडमार्क अनाधिकृत प्रयोग गरेर जारको पानी बेचिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
प्रहरी परिसर, काठमाडौंले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई कम गुणस्तरको पानीमा अन्य कम्पनीको ट्रेडमार्क टाँसी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट १ सय ९७ वटा जारको पानी र दुई वटा गाडी समेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामग्रीसहित थप छानबिन र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाइएको प्रहरीले बताएको छ।







