वेस्ट इन्डिजसंग एक खेल अगावै नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले वेस्ट इण्डिजलाई दोस्रो टि२० आईमा पराजित गर्दै नेपालले एक खेल अगावै ऐतिहासिक रुपमा सिरिज जितेको छ ।

३ खेलको युनिटी कप टि२० आई सिरिज नेपालले एक खेल अगावै जितेको हो । पहिलो पटक टेस्ट राष्ट्रसँग दुई पक्षिय सिरिज खेलिरहेको नेपालले पहिलो सिरिजमा नै ऐतिहासिक सफलता पाएको हो । १ सय ७४ रनको मध्यम लक्ष्य वेस्ट इण्डिजका लागि विशाल बन्न पुगेको थियो ।

खराब ब्याटिङ तथा नेपालको कसिलो बलिङ र फिल्डिङले वेस्ट इण्डिज १७.१ ओभरमा ८३ रन बनाउँदै अल आउट भयो । वेस्ट इण्डिजमाथी नेपालले ९० रनको फराकिलो जित हासिल गर्न सफल भयो ।

वेस्ट इण्डिजका लागि जेसन हाल्डरले १५ बलमा २ छक्काको सहयोगमा सर्वाधिक २१ रन जोडे । अमिर जाग्गो १६ तथा अकिम अगुस्ट १७ रनमा आउट भए । वेस्टइण्डिजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि ३ बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४, कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनको मध्यम योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले महत्वपुर्ण ऐतिहासिक साझेदारी गरेका थिए । अर्धशतक बनाएका दुवैले चौथो विकेटका लागि ६६ बलमा १ सय रनको साझेदारी गरेका थिए । उनीहरुले यसअघि मुलपानीमा युएईविरुद्ध आसिफ र कप्तान रोहितकुमार पौडेलले गरेको ९९ रनको साझेदारी तोडेका हुन् ।

आसिफ नेपाली इनिङमा ४७ बलमा सर्वाधिक ६८ रनमा अविजित रहे । उनले ८ चौका र २ छक्का प्रहार गरे । सन्दीपले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन जोडे ।

४३ रन बनाउँदा ३ विकेट गुमाएर समस्यामा परेको नेपाली इनिङमा सन्दीप र आसिफले महत्वपुर्ण इनिङ खेले । ओपनर कुशल भुर्तेल २ रनमा वेस्टइण्डिजका कप्तान अकिल होसेनबाट एलबिडब्लु भए । करिब ३७ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहमम्द आदिल आलम ५ बलमा १ चौका र १ छक्काको सहयोगमा ११ रनमा आउट भए ।

गुलसन झा ६ तथा कुशल मल्ल ७ रनमा आउट हुदा कप्तान रोहितलाई नेपालले ३ रनमा गुमाएको थियो । वेस्ट इण्डिजका लागि पहिलो खेल ४ विकेट लिएका जेसन होल्डर यस खेलमा विकेट बिहिन रहे । कप्तान होसेन र कायल मेयर्सले समान २ विकेट लिए ।