भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो।
हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्।
कार्यक्रममा संगीतकार दिपक जङ्गम, गीतकार सुबासचन्द्र ढुङ्गेल र संगीतकार राजु सिंहलगायतले गीतको परिचर्चा गरे।
२०७२ देखि चार वर्षसम्म क्यान्सर रोगसंग संघर्ष गरेपछि २०७५ चैत १२ मा दिक्षाको असामयिक निधन भएको थियो। कार्यक्रममा उनकी आमा निलु हाडाले दिक्षाको स्वभाव र ब्यक्तित्वबारे स्मरण गरिन्।
त्यसैगरी, सो अवसरमा शारीरिक अशक्ततामाथि विजय पाउँदै जीवनकथा लेखेकी प्रिता बल्ललाई सम्मान समेत गरियो। अनुशिलन नेपालद्वारा प्रकाशित उनको “अविचलित पाइला” पुस्तकका ५० प्रति स्मृति प्रतिष्ठानले खरिद गरी कार्यक्रममा वितरण गरिएको थियो ।
दिक्षा गौरी हाडा स्मृति प्रतिष्ठान सामाजिक सेवामा सक्रिय रहँदै आएको छ। प्रतिष्ठानले यही असोज ११ गते विहान ८ देखि ११ बजेसम्म इताछे परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी गराएको छ।







