झुटा समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न खोजियो- वाग्ले

swarnim wagle
swarnim wagle

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भारतसंग सीमासम्बन्धि विवाद गर्नु नहुने र भारत नेपालको भाग्यविधाता भएको भनेका भ्रमपूर्ण सामाग्री सामाजिक संजालमा भाइरल भएका छन् । यस्ता अभिव्यक्ति आफूले नदिएको उनले स्पष्ट पारेका छन् । 

क्यानाडाको नियगरा फल्सबाट मंगलवार फेसबुक भिडियो पोस्ट गर्दै वाग्लेले आफू डिप फेक (deepfake) प्रविधिको सिकार भएको खुलासा गरे । उनका अनुसार फोटोसप गरेर नक्कली फेसबुक ‘आईडी’ बनाइएका छन् भने डिप फेक प्रविधिबाट नक्कली अडियो तयार गरी उनको चरित्र हत्या गर्न खोजिएको छ ।

 “रास्वपाको बढ्दो लोकप्रियताबाट आत्तिएकाहरुले ‘डिप फेक’ (झुटा, नक्कली) समाचार, आवाज एवं स्टाटस फैलाएर मेरो बदनामी गर्न सकिन्छ कि भनेर लागेका रहेछन्।” वाग्लेले भने, “आम नेपाली जनताको विवेकलाई गिज्याउने यो दुष्प्रयास असफल हुनेछ।”

उनले आफ्नो आधिकारिक पेजमा आएका कुरामा मात्र विश्वास गर्न समेत आग्रह गरे ।

सामाजिक सञ्जालमा सामान्य प्रयोगकर्तादेखि राजनीतिक नेतासम्म वाग्लेको भनाइ भन्दै भ्रमित भएका देखिएका थिए । नेकपा बहुमतका केन्द्रीय नेता उदय चलाउने (दीपक)ले समेत सामाजिक सञ्जालमै वाग्लेको भनाइको आधिकारिकताबारे प्रश्न उठाएका थिए ।

वाग्लेमाथि फैलाइएका भ्रमपूर्ण सामाग्रीका कारण सामाजिक सञ्जालमा चर्को बहस चलेको थियो । प्रविधिको दुरुपयोग र डिप फेकजस्ता प्रविधिबाट चरीत्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा वाग्लेको घटना अर्को उदाहरण बनेको छ ।