काठमाडौँ । युवा नेता एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेश मल्लले जनताले लडेर ल्याएको लोकतन्त्रलाई लुटतन्त्र बनाउन खोजिएको आरोप लगाएका छन् ।
उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सो आरोप लगाएका हुन् ।
न्यायपालिका र नियमनकारी निकायमा चरम दलियकरण देखिएको उनको दावी छ । “निर्देशित अभियोजन, निर्देशित निर्णय र निर्देशित फैसलाबाट न्याय निरुपण भइरहेको छ ।” उनले भने, “जनताले लडेर ल्याएको लोकतन्त्र आज लुटतन्त्रमा परिणत भएको छ।”
देशमा मेरिटोक्रेसी (योग्यताआधारित प्रणाली) को स्थान नेपोटिज्म (नातावाद) र क्रोनीज्म (सिन्डिकेटवाद) ले लिएको उनले आरोप लगाएका छन् ।
उनका अनुसार, व्यक्तिहरू जति नै सक्षम भए पनि अवसर धन्दावालाको सेटिङ्ग र शक्तिशालीको प्रभावमा मात्र केन्द्रित भइरहेकाले सर्वसाधारण तथा आलोचकहरू बाँच्नै गाह्रो भएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य मल्लले विगतमा माओवादी आन्दोलनलाई दबाउन प्रयोग गरिएका अप्रेसन रोमियो, कम्बिङ, किलो सेरा र जङ्गल सर्च जस्तै खतरनाक अप्रेसनहरू अहिले पनि फरक स्वरुप र शैलीमा प्रयोग भइरहेको जिकिर गरे ।
इतिहासले प्रमाणित गरेको तथ्य स्मरण गराउँदै मल्लले चेतावनी दिए,
“अति भए खति हुन्छ। कुनै पनि तानाशाह जनता सामु कहिल्यै टिकेका छैनन्।”







