चितवन, ३ माघ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ ।
माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
यसअघि देवघाटको माघी मेलालाई ध्यानमा राखेर पुस २९ देखि माघ २ गतेसम्म चार दिनका लागि उक्त सडक खुला गरिएको थियो । “आज राति १० बजेदेखि बन्द गरेर भित्तो काट्ने काम शुरु हुने भएकाले सो समय नपर्नेे गरी समय मिलाएर हिँड्न सवारी चालकलाई आग्रह गर्दछु”, यादवले भने, “मिलेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अपिल गर्छु ।”
यसअघि यही पुस १८ देखि राति १० बजेबाट ४ बजेसम्म ६ घण्टा सवारी आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । आयोजनाले रातिमा काम प्रभावकारी नभएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता भएको बताएको छ ।
चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले अर्काे निर्णय नभएसम्मका लागि रातिको ६ घण्टा सडक रोकेर काम गरिने बताए ।
गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । उक्त सडकको ३४ किलोमिटर क्षेत्रको सडक विस्तार कार्य जारी छ । दुई पटक म्याद थप्दा पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।