काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक सत्ता संघर्ष सतहमा आएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेसँगै, अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाइएको छ।
काठमाडौँमा असार १४ र १५ गते आयोजित राष्ट्रिय भेलाबाट लालवीर सर्वसम्मत अध्यक्ष घोषित भएका हुन्। पार्टी सांसद अरुणकुमार चौधरीका अनुसार डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको, पार्टी नेतृत्व अनिर्णयको बन्दी बनेको र चलायमानता हराएको भन्दै नयाँ नेतृत्व चयन गरिएको हो।
तर हटाइएकी अध्यक्ष रञ्जिता श्रेष्ठले यो निर्णय अस्वीकार गर्दै कडा आपत्ति जनाएकी छन्। उनले आफूलाई जानकारी नदिई राष्ट्रिय भेला आयोजना गरिएको, र त्यसबाट नयाँ अध्यक्ष बनाइएकाले यो प्रक्रिया पार्टीको विधानविपरीत भएको बताएकी छन्। “अब मैले कानुनी उपचार खोज्छु,” उनको भनाइ छ।
लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् भने रञ्जिता श्रेष्ठ, रेशमकी पत्नी हुन्।
२०७८ सालमा रेशम चौधरी जेलमै रहेका बेला उनकी पत्नी रञ्जिताको अध्यक्षतामा पार्टी दर्ता भएको थियो। तर २०८० पुसमा रेशम जेलबाट रिहा भएपछि पहिलो महाधिवेशनमार्फत आफू अध्यक्ष बनेका थिए। निर्वाचन आयोगले सो निर्णय मान्यता नदिँदा पार्टी पुरानै कार्यसमितिमा फर्किएको थियो र रेशमले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्, जुन हाल विचाराधीन अवस्थामा छ।
यसो हेर्दा, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन अहिले परिवारको आन्तरिक प्रतिस्पर्धामा खुम्चिएको देखिन्छ — जहाँ श्रीमती हट्छिन्, र बुवा सत्तामा आउँछन्।







