रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान

रौतहट, १ माघ । रौतहटमा शितलहरबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन नेपाल कम्युनिस्ट पार्टीले आग्रह गरेको छ । चिसोमा कठ्यांग्रिएर आम जनता मरिरहे पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएको भन्दै नेकपाले आलोचना गरेको छ । राैतहटमा अहिलेसम्म चिसाेले कठ्याङ्ग्रिएर पाँच जनाकाे मृत्यु भइसकेकाे छ ।

नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल सिंहले जिल्ला प्रशासन कार्यालयलाई समेत तत्काल प्रभावित क्षेत्रमा न्यायो कपडा वितरण, खाद्यान्न र औषधी उपचारको व्यवस्था मिलाउन आह्वान गरेका छन् । साथै उनले आफ्नो पार्टीलाई पूरै यस अभियानमा लगाउने निर्णय गरेको जानकारी गराएका छन् ।

नेकपाका रौतहट इन्चार्ज विजयलाल सिंह र सेक्रेटरी बिष्णु बरालले एक विज्ञप्ती जारी गर्दै पार्टीका सबै नेता कार्यकर्तालाई शितलहर पीडित वस्तीमा गएर पीडितको उद्धार गर्न, राहत संकलन गरी वितरण गर्न र औषधी उपचारको व्यवस्थापनमा लाग्न आह्वान पनि गरेका छन् । उनीहरुले रौतहटका यमुनामाइ गाउँपालिका, पराेहा नगरपालिका, गढिमाइ नगरपालिका, गुजरा नगरपालिका, गौर नगरपालिका, विरिन्दावन नगरपालिका लगायतका ठाउँमा चिसोले गर्दा ठूलो संख्यामा मानिसहरु विरामी परेको बताएका छन् ।  

गत शनिवार मात्र रौतहटको परोहा नगरपालिका-२ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मीको मृत्यु भएको थियाे । शेख समिम र मरठिया दुवै आ-आफ्ना घरमा खाना खाएर सुतेका र बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । दुवै जनाको शव परीक्षण गर्दा जाडोले कठाङ्ग्रिएर मृत्यु भएको थापा भएकाे थियाे । 

त्यसैगरी गत शुक्रबार राति पनि रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलिको इँटा उद्योगमै कठाङ्ग्रिएर मृत्यु भएको थियाे । त्यस्तै त्यसअघि गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजामको अत्यधिक जाडोका कारण मृत्यु भएको थियो ।

रौतहट लगायत तराइका विभिन्न जिल्लामा यसअघिका बाढी पीडितहरु यसपटक शितलहरबाट बढी प्रभावित भएका छन् । बाढीले घर भत्काएका मानिसहरु छाप्रो बनाएर बसेका थिए । साथै धेरैका लत्ताकपडा, खाद्यान्न सबै बाढीले बगाएको थियो ।

तरार्इमा निरन्तर रुपमा चलिरहेको पश्चिमा हावासँगै बाक्लो हुस्सु र शीतलहर चलेकाे छ । जसका कारण रौतहट लगायत मध्य तराईका जिल्लाहरुमा अत्यधिक जाडो बढेकाे छ । शीलतहर बढेर जनजीवन प्रभावित भएपछि रौतहटका सामुदायिक विद्यालयमा दिइएको विदामा थप चार दिन थप गरी आउदो २६ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

विज्ञप्तीमा सिंह र बरालले सरकार जनताको संवेदनलाई नजरअन्दाज गरिरहेको आरोप लगाएका छन् । कतै नागरिक औषधी समेत नपाएर मरिरहेको र कतै जाडोले कठ्यांग्रिएर मरिरहे पनि त्यसतर्फ अलिकति पनि ध्यान नदिएर सरकार कुर्सीको खेलमा लिप्त भएको उनले दावी गरेका छन । विज्ञप्तीमा स्थानीय प्रशासन र स्थानीय तहका कुनै पनि निकायले पीडिततर्फ ध्यान नदिएकाे अाराेप लगाइएकाे छ । 

Loading...