चीनको वर्षाले रसुवामा बितण्डा, उद्धारकर्ता ३ प्रहरीसहित दर्जन बढी सम्पर्कबिहीन

रसुवा । चीनतर्फको अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले गएराती रसुवाको टिमुरे क्षेत्रलाई तहसनहस बनाएको छ।

स्थानीय समय अनुसार गएराती ३ बजेतिर आएको बाढीले रसुवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै विनाशको कहर मच्चायो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले हालसम्म १८ जनालाई सम्पर्कविहीन बनाएको छ। तीमध्ये ९ नेपाली र ६ चिनियाँ नागरिक रहेको पुष्टि भएको छ।

यसका साथै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ स्थानीय गरी ९ जनाको उद्धार गरिएको जानकारी प्राप्त भएको छ।

प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठसहित प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा समेत उद्धारमा खटिएका बेला बेपत्ता भएका छन्। यो जानकारी सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले दिएका छन्।

मितेरी पुल बगायो, आवागमन ठप्प
भोटेकोशीमा आएको बाढीले बिहान ४ बजे रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको छ। जसका कारण पैदल यात्रु र सवारी साधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

४:४० बजे तिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित ईभी चार्जिङ स्टेशनमा समेत बाढीले क्षति पु-याएको छ। त्यहाँ पार्क गरिएका ७/८ वटा गाडीहरू बगाएको पुष्टि भएको छ। भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले व्यापक क्षति पुर्‍याएको छ भने रसुवागढी हाइड्रोपावरको ड्याममा समेत असर परेको छ।

सडकमा चिरा
बाढीको प्रभाव बिहान ७:५० बजेतिर पासाङल्हामु सडकखण्डमा देखियो, जहाँ सडक चिरा फाटेर धुन्चेदेखि टिमुरेसम्मको सम्पर्क अवरुद्ध भयो।

 उद्धार टोली परिचालित
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जना, टिमुरे इ.प्र.का.का धानबहादुर तामाङको नेतृत्वमा २८ जना, रसुवागढी प्रहरी चौकीका सुमन महन्त गिरीको नेतृत्वमा १२ जना लगायत विभिन्न स्थानबाट करिब १ सय जना सुरक्षाकर्मी खटिएका छन्। उद्धार र राहत कार्य तीव्र रुपमा सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।