भक्तपुर । नेकपा एमालेकाे युवा संघ अन्तर्गत युथ फोर्सको अध्यक्ष भएपछि राजनीतिक सफलता थप्दै गएका नेकपा एमालेका पाेलिटव्युराे सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे युवा संगठन वाइसीएल नेपालकाे केन्द्रीय नेतृत्व प्रति असन्तुष्टि प्रकट गरेका छन् ।
सार्वजनिकरुपमै उनले वाइसीएल सम्मेलनलाई पद वितरणको कुम्भ मेला भनेका छन् । ७४ सदस्यीय पदाधिकारी र त्यसमा पनि २२ उपाध्यक्ष, १९ उपमहासचिव, ३१ सचिव बनाएर काठमाडौमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनप्रति व्यंग्य गर्दै उनले प्रश्न गरे, “यो कुनै संगठनको सम्मेलन हो कि पद वितरणको कुम्भ मेला ?
पछिल्लो समय माओवादी र यसका जनसंगठनहरू पद लोलुपता, अवसरवाद र संगठनात्मक अराजकतामा फसिरहेको पूर्वमन्त्री समेत रहेका बस्नेतले गम्भीर आरोप लगाएका छन् ।
आन्दोलनले उठाएका मूल मुद्दाहरू ओझेलमा पार्ने र पदको भागबण्डा नै अब ‘राजनीतिक अभ्यास’ बन्न थालेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।
“संगठनको नाममा यस्तो पद आसक्ति देख्दा लाग्छ, अब यो अस्तित्वको अन्तिम रक्षाको संघारमा उभिएको आन्दोलन हो।” वाइसीएलप्रति उनले कडा टिप्पणी गरे ।
राजनीतिक शुद्धता नभई, पदको संख्याले संगठनको मूल्याङ्कन हुने विडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्ने उनले आवश्यकता औल्याएका छन् ।
“निर्वाचित सम्पूर्ण साथीहरूलाई व्यक्तिगत शुभकामना छ ।” उनले भने, “तर के तपाईंहरू यो पदको भीडमा आन्दोलनको आत्मा जोगाउन सक्नु हुनुहुन्छ?”
नेता बस्नेत लामो समय एमालेको युवा संघको अध्यक्ष र इन्चार्ज समेत भएकाले वाइसीएलको सम्मेलनमा चासो राखेका हुन् ।
उनले हालसालै कांग्रेसको तरुण दललाई गणेशमान पुत्र समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बजेटमार्फत ३ करोड बिनियोजन गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
युवा संगठनको नेतृत्व गर्दै स्थापित भएका नेता बस्नेत युवा सम्बन्धि विषयमा टिप्पणी र धारणा सार्वजनिक गरिरहेका हुन्छन् ।
वाइसीएलप्रतिको टिप्पणी हेर्दा व्यंग्य जस्तो भएपनि यो सदाशयपूर्ण भएको उनले बताएका छन् ।
“मेरो टिप्पणी युवा राजनीतिमा देखिएको गम्भीर विचलनप्रतिको चिन्ता हो।” ननस्टपखबरसंग उनले भने ।
पदको लालचले बनाइने भद्दा संगठनले राजनीतिक मूल्य, आदर्श र आन्दोलनको आत्मा हराउने खतरा रहने उनको भनाइ छ ।
राजधानीमा ६ दिन लगाएर सम्पन्न वाइसीएलको तेस्रो सम्मेलनले पुष्प ओलीको अध्यक्षतामा ३५५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । वाइसीएलको इन्चार्जमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा रहेका छन् ।
नेता बस्नेत वाइसीएलको दबदबा भएको बेला युथ फोर्सको अध्यक्ष भएर राजनीतिमा उदाएका हुन् । नेकपाकालमा बस्नेत युवाको इन्चार्ज र दीपशिखा अध्यक्ष रहेका थिए ।