टेलिकमका प्रवन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा

भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले टेलिकमको बिलिङ प्रणालीमा व्यापक अनियमितता र आर्थिक हिनामिनाको आरोपमा मुद्दा अघि बढाएको हो।

आरोपपत्रअनुसार, टेलिकमको सेवा प्रणालीमा भ्रष्टाचार गरी संस्थालाई ३३ करोड ४८ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याइएको दाबी गरिएको छ।

मुद्दा अहिले दर्ता प्रक्रियामा रहेको र चाँडै न्यायिक प्रक्रियामा प्रवेश गर्ने अदालत स्रोतले जनाएको छ।

मुद्दामा हाल निलम्बनमा रहेका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई पनि प्रतिवादी बनाइएको छ। पौडेलविरुद्ध यसअघि नै भ्रष्टाचार र अकुत सम्पत्तिसम्बन्धी अभियोगमा मुद्दा चलिरहेको छ। उनकै स्थानमा सरकारले २०८१ सालको भदौमा संगीता पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिएको थियो।

आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग, बदनियतपूर्वक ठेक्का व्यवस्थापन तथा नियमनकारी प्रणालीमा हस्तक्षेपजस्ता विषयमा संलग्न रहेको ठहर गर्दै १८ जनालाई मुद्दामा प्रतिवादी बनाएको हो।