अनेसास नेपालले दियो बधाई र शुभकामना

२०८१ साउन २६ आइतवार । काठमाडौँ, सामाजिक विकास भवन अनामनगरमा अनेसास नेपाल च्याप्टरले २११ औं भानुजयन्ती मनाएको छ । यसै अवसरमा नेपाल च्याप्टरले अनेसास केन्द्रीय कार्यसमितिका नव निर्वाचित पदाधीकारी तथा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउनुकासाथै भर्खरै सम्पन्न भएको अनेसासको निर्वाचनमा नेपालबाट निर्वाचित एसिया उपाध्यक्ष सरिता अर्याल तथा अनेसास केन्द्रिय सदस्य सुमन वर्षा घिमिरे लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिइएको थियो।

धन्यवाद ज्ञापन तथा मन्तव्यका क्रममा अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अनेसास निर्वाचन २०२४-०२६ का लागि मातृभूमि नेपालबाट उपाध्यक्ष पदमा उम्मेद्वार दिएकी  सरिता अर्याललाई अत्याधिक मतले  र सदस्यमा उम्मेद्वार दिएकी सुमन वर्षालाई निर्विरोध निर्वाचित गराएकोमा विश्वभर रहेका अनेसासका अजीवन सदस्यहरूप्रति आफ्नो र नेपाल च्याप्टरको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए । नेपालबाट उठेका दुवै उम्मेद्वारलाई निर्वाचित गराउनु नै नेपाल तथा प्रवासमा रहेका आजीवन सदस्यहरूले आफ्नो मातृभूमिको सम्मान र माया दिनु हो भन्दै केसीले आम आजीवन सदस्य तथा अनेसासका शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राडा व्रतराज आचार्य थिए । विशेष अतिथिको भूमिकामा प्राडा खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसास पूर्व केन्द्रिय उपाध्यक्ष डा रेणुका सोलु, अनेसास नेपालका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास नेपालका सल्लाहकार डा. रामप्रसाद दाहालम अभिनेता रविन्द्र खड्कालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

भानुजयन्तीका अवसरमा कविहरू,दुर्गा ढकाल, सुचिता काफ्ले, लक्ष्मण सिटौला, मंजिला अनिल, शान्ति रिसालले कविता वाचन गरेका थिए ।

भानुभक्त आचार्यको प्रतिमामा फूलमाला अर्पण गरेर भानुको स्मृति गरिएको थियो। लेखक सरिता अर्याल र सुमन वर्षालाई खादा, माला तथा बधाई शुभकामना पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्राडा वर्तराज आचार्य प्राडा खगेन्द्रप्रसाद लुइँटेल, राधेश्याम लेकाली, डा रेणुका सोलु, डा. रामप्रसाद दाहाल र रविन्द्र खड्कालगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिएभने विजयी सरिता अर्याल र सुमन वर्षाले आफ्नो जिम्मेवारी र कर्तव्यको बारेमा बोल्दै विजयी गराउने सबैप्रति कृतज्ञता अर्पण गरेका थिए ।

कार्यक्रममा अनेसासमा नयाँ बनेका सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मंजिला अनिलले राखेकी थिइन्। कार्यक्रम अनेसास नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले चलाएकी थिइन्।  कार्यक्रममा अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरू, कवि, लेखक, साहित्यकार, शुभचिन्तक तथा पाठकलगायतको बाक्लो उपस्थिति रहेको थियो ।