१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या

कञ्‍चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् ।

कञ्‍चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको आफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी अस्पताल लागेका थिए। चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको भन्दै कोहलपुर रिफर गरेका थिए ।

उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर मेडिकल कलेजले भर्ना लिन नमानेपछि नेपालगंज लगियो । त्यहा चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिए । शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई भएर पूजा घर फर्किएकी थिइन् ।

फेसबुकमा पूजाले हिजो अन्तिममा एउटा मार्मिक स्टाटस लेखिकी थिइन् । जसमा भनिएको छ। ‘आकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ यसरी कसैलाई इंगित गरी घुर्किपूर्ण स्टाटस लेखेकी पूजाले त्यसको २४ घण्टा नबित्दै आत्महत्या गरिन् । पूजाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनका परिवारका कुनै पनि सदस्यले उनको आत्महत्याबारे केही बोलेका छैनन् ।

Loading...