अनेसास निर्वाचनको तावा तात्न सुरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आगामी २०२४-२०२६ का लागि हुन गैरहेको निर्वाचनको तावा तात्न सुरु भएको छ ।

आगामी निर्वाचनका लागि साहित्यकार विमला निरौलाले अध्यक्षको पदमा घोषणा गरिसकेकी छिन् भने साहित्यकार सर्वज्ञ वाग्ले र कवि लालगोपाल सुवेदी अध्यक्षको दावेदार रहेका छन् । 

तेसैगरी साहित्यकार तथा समाजसेवी महेश्वर पन्तले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । हालसम्म अन्य पदका लागि र अन्य उम्मेदवारको घोषणा जानकारीभने प्राप्त भएको छैन ।

साहित्यकार विमला निरौलाले अनेसासमा आफ्नो इतिहाससँगै अध्यक्षको उम्मेद्वारीको घोषणा जानकारी तथा आम साहित्यानुरागीलगायत आजीवन सदस्यहरूमा साथ सहयोगका लागि अपिल गरेकी छन् । 

त्यस्तै महेश्वर पन्तले आगामी कार्यसमितिलाई सशक्त बनाउँदै जनजनको मनभित्र अनेसास बसाउन आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका छन् । 

कवि लालगोपाल सुवेदीले आफ्नो फेसबुक स्टाटसमार्फत अध्यक्षको उम्मेद्वारी दिने जानकारी गराएका छन् ।

अनेसासमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरूका लागि निर्वाचन हुनेछ । वर्तमान कार्यसमितिले आगामी निर्वाचनका लागि निर्वाचन समितिसमेत गठन गरिसकेको छ ।  चालीसभन्दा बढी देशमा १०० भन्दा बढी च्याप्टर रहेको अनेसासको २४०० भन्दा बढी आजीवन सदस्यहरू रहेका छन् भने तिनै आजीवन सदस्यहरूको मतले अनेसास केन्द्रीय कार्य समितिको निर्माण हुनेछ ।