मेलम्ची बाढीको एक वर्ष, टहरामै बास ,पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा बोलिमै मात्र सिमित

असार १, सिन्धुपाल्चोक ।  मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।

Loading...