ताम्रकार समाजको नेतृत्वमा विनोद ताम्रकार

ललितपुर महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षण सम्बद्र्धन संगसंगै स्मार्टसिटीको अवधारणालाई पनि संगै लिएर अगाडी बढने योजना रहेको महानगरका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले व्यक्त गर्नुभयो । ताम्रकार समाजको चौबीसौं सामूहिक भेला तथा अठारौं साधारणसभाको उदघाटन गर्नुहुंदै उहांले गएको कार्यकालमा बाकी रहेको कार्यहरुलाई यस कार्यकालमा पूरागर्ने लक्ष्य लिएको बताउनुभयो । उहांले गएको कार्यकालमा आफूसंग बहुमत नहुंदा समेत महानगरबासीको हितका लागी विभिन्न कार्यहरु गर्दै आइरहेको हाल आफूसंग प्रसस्त बहुमत रहेको हुंदा महानगरबासीहरुको लागी थप कार्यगर्न जोसजांगर रहेको बताउनुभयो । सो कार्यक्रममा मन्तव्य राख्नुहुंदै विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जली शाक्य बज्रार्चायले महानगरका स्थानिय समाजहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जानकारी गराउनुभयो । उहांले महानगरका जातिय समाजहरुमा ताम्रकार समाजको विशिष्ट स्थान रहेको बताउंदै ताम्रकार समाजबाट महानगरपालिकाले समेत धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

सभाका सभापति एवं ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले ललितपुर नगरको कला, संस्कृति, सम्पदाको संरक्षण, सम्बद्र्धनको लागी समाज हिजोपनि लागी परेका भोलीपनि लागीपर्ने जानकारी गराउनुभयो । उहांले नगरमा जनसंख्याका आधारमा ठूला र साना समाजहरु रहेको बताउनु हुंदै महानगरपालिकाबाट समान व्यवहारको अपेक्षा गरेको बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधीहरुबट आ–आफ्नो समस्या समाधान हुनेमा जनता आशावादी रहेको बताउंदै अध्यक्ष ताम्रकारले ललितपुरका जनप्रतिनिधीहरुले जनआकांक्षा पूरागर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

सो कार्यक्रममा समाजको स्वर्ण जयन्तीको अवसरमा स्थापनाकालदेखि हालसम्म समाजको कार्यसमिति, सल्लाहकार, संयोजकभई कार्य गर्नुभएका पैसठ्ठी जवानलाई विशेष सम्मान गरिएको थियो । समाजबाट नवनिर्मित ताम्रकार मंकाः छेँ नामक भवनको समाजका जेष्ठ नागरिक काजीरत्न ताम्रकारबाट उदघाटन गरीएको थियो । साथै सो समारोहमा जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान, दाता सम्मान, स्मारिका बिमोचन लगायतका कार्यक्रमहरु भएका थिए ।

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, महानगरपालिका निर्वाचित वडा अध्यक्षहरु, विभिन्न जातिय समाजका अध्यक्षहरुको सो समारोहमा उपस्थिति रहेको थियो । साधारणसभाको बन्द सत्रमा महासचिव शम्भु गोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपेश ताम्रकारले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

समाजको सो साधारणसभाबाट विनोद ताम्रकारको अध्यक्षतामा नयां कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्य समितिमा शम्भु गोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, विजय ताम्रकार, मनोज ताम्रकार (नसांः), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगः), सजेश ताम्रकार, निता ताम्रकार चयन भएका हुन् । कार्यसमितिको पद विभाजन एवं रिक्त एक सदस्यको मनोनयन कार्यसमिति बैठकबाट हुनेछ ।

 

Loading...